Thursday, October 1

महालक्ष्मी नगरपालिकाले कर वृद्धि नगर्ने घोषणा

Spread the love

दिगो समाचारदाता
ललितपुर २०७७ असार ९ गते
महालक्ष्मी नगरपालिका, ललितपुरले २०७७ असार ८ गतेदेखि १० गतेसम्म तीन दिनको कार्यसूचि सहित आठौँ नगरसभा सञ्चालन गरिरहेको छ । बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको सभाको पहिलो दिन नगर प्रमुख रामेश्वर श्रेष्ठले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
महालक्ष्मी नगरपालिकाको नीति तथा कार्यक्रममा विशेषत कोभिड– १९ को रोकथाम तथा नियन्त्रणमा विशेष जोड दिइएको छ । महालक्ष्मीको पहिलो नगर सभाबाट स्वीकृत पाँच वर्षे नगर विकास कार्ययोजना कार्यान्वयनमा सिमित श्रोतसाधनका वावजुत पनि लक्ष्य उन्मुख रहि निरन्तरता दिइने बताइएको छ ।
नीति तथा कार्यक्रममा कृषि क्षेत्रको व्यवसायीकरण र यान्त्रिकरणमा जोड दिइने उल्लेख छ । युवा रोजगारी र उद्यामशीलतामा केन्द्रित रही सहजीकरण र सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
शैक्षिक क्षेत्रको विकासलाई अझै प्रभावकारी रुपमा अघि बढाइ शिक्षा क्षेत्रको स्तरोन्नतिमा विशेष पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्य क्षेत्रलाई थप विकसित गरी विशेषज्ञ सेवा सहितको नगर अस्पताल सञ्चालन गरिने नगरप्रमुख श्रेष्ठले जोड दिनुभयो । नीति तथा कार्यक्रममा नगरको मौलिक पहिचान, कला, संस्कृति र भाषाको संरक्षण र प्रवर्धन गरिन जनाइएकोे छ ।
नगरको विकास र नगरवासीको जीवनस्तर र जीविकामा आमुल परिवर्तन ल्याउने प्रतिवद्धताका साध आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने लगायतका विषयवस्तु समावेश गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसै गरी कोभिड १९ सङ्क्रमणका कारण परेको असरलाई मध्य नजर गरी असन्तुलित र अव्यवहारिक बाहेकका करमा कुनै मूल्य वृद्धि नगरिने पनि नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
असार ८ गते नै नगर उपप्रमुख निर्मला थापाद्वारा न्यायिक समितिको वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिएको थियो ।

प्रमुख श्रेष्ठले आगामी वर्ष नगरपालिकाले लिने रणनीति, योजना र कार्यक्रमको सैद्धान्तिक तयारीबारे प्रष्ट पारे । कोभिड- १९ को महामारीका कारण नगरवासीका दैनिक जनजीवन एवम् जनजिवीकामा गम्भीर असर पुगेको भन्दै मेयर श्रेष्ठले चालु वर्षका विकास निर्माणका कार्यमा ठूलो अवरोध पुगेको बताएका छन् । नीति तथा कार्यक्रममा भनिएको छ– ‘विकास निर्माणका लागि विनियोजित रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्नु परेको छ । योजना कार्यन्वयनको मुख्य समयमा भएको लकडाउनका कारण हरसम्भव प्रयासका वावजुद पनि विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएन । यसले गर्दा आगामी आर्थिक वर्षमा समेत स्रोत परिचालन र आर्थिक विकासको क्षेत्रमा गम्भीर असर पर्ने आंकलन गरिएको छ ।’

कोभिड—१९ को महामारी रोकथाम तथा नियन्त्रणका सबै पक्षहरुमा नगरपालिकाले समयमै उच्च सतर्कताकासाथ नीति¸कानून र निर्णयहरु गरी पर्याप्त तयारीका साथ विभिन्न सहयोगी संस्थाहरु तथा दाताहरुको समन्वय र साझेदारीमा सतर्कतापूर्वक सघन अभियान सञ्चालन गरेकोले नगरवासीहरुलाई हालसम्म सुरक्षित राख्न सफल भएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

समयमै कन्ट्याक्ट ट्रेसिङ टिमको गठन गरी नगरपालिकाले नगरभित्र विदेश तथा उपत्यका वाहिरबाट आएका तथा जोखिममा रहेर सेवा प्रदान गरिरहेका व्यवासायीहरु¸ कर्मचारीहरु¸ प्रहरीहरु¸ स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको ५ चरणमा करिव १३ सय जनाको कोरोना परीक्षण गरेको छ ।

सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि¸ उपकरण¸ सुरक्षाका सामग्री तथा राहत समेत समयमै प्रभावकारी ढंगले वितरण गरिएको प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रममा उल्लेख गरेका छनन् । उनले भनेका छन्– ‘श्रम बैंकमार्फत राहतलाई कामसँग जोडेर प्रभावकारी ढंगले कार्यान्वयन गरिएको छ । यस महामारीको अवधिमा नगर क्षेत्रमा कसैलाई भोकै बस्न नपर्ने व्यवस्था मिलाइएको छ ।’

नीति तथा कार्यक्रममा लेखिएको छ- ‘कोभिड संक्रमणको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित रुपमा राखी संक्रमण विस्तार हुन नदिन वडा नं ५, ६ र ७ मा सुरक्षित आवास गृह/क्वारेन्टीन स्थापना गरिएको छ । आवश्यकताको आधारमा अन्य वडाहरुमा समेत सुरक्षित आवास गृहरक्वारेन्टीन स्थापना गर्ने कार्यक्रम रहेको छ । कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा सहयोग पुर्याउन हुने सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु र यस महामारीको प्रभावलाई पूर्ण रुपमा परास्त गर्नका लागि सबैको निरन्तर साथ सहयोग र साझेदारीको अपेक्षा गर्दछु ।’

महालक्ष्मी नगरको दीर्घकालीन लक्ष्य सहित स्वीकृत गरिएको पाँच वर्षे नगर विकास कार्ययोजनाको निरन्तरता तथा कोभिड—१९ को महामारी विरुद्दको लडाईं र यसका असरलाई न्यूनीकरण गरी आर्थिक पुननिर्माणको दिशामा यस वर्षको नीति तथा कार्यक्रम अगाडि सारिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कर वृद्धि नगर्ने

नगरपालिकाले आगामी वर्ष अव्यवहारिक र असन्तुलितबाहेकका करका दर बृद्धि नगर्ने स्पष्ट पारेको छ । नीति तथा कार्यक्रममा भनिएको छ– ‘कोभिड —१९ का कारण उत्पादन र लगानीमा परेको असरलाई सम्बोधन गर्ने गरी राजस्व र करका संरचनामा पुनरावलोकन गरिने छ । अव्यवहारिक एवम् असन्तुलित करका दर समायोजन बाहेक करको दरमा बृद्धि गरिने छैन।’

नीति तथा कार्यक्रमको विस्तृत विवरण यस्तो छ–

महालक्ष्मी नगरपालिकाको आठौं नगरसभामा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम
“Unite to Fight Against Corona Virus COVID-19”

१) विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९¸ कोरोना भाइरसको चपेटामा परिरहेको चुनौतिपूर्ण एवम् असहज परिस्थितिमा म यस नगरपालिकाको आठौं नगर सभामा आ.व २०७७।०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु।
२) नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, संघीयता¸ लोकतन्त्र, गणतन्त्र र जनजीविकाका लागि भएका विभिन्न आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाइते भएका तथा वेपत्ता पारिएका नागरिकहरुप्रति उच्च सम्मान ब्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु साथै उक्त आन्दोलनहरुको नेतृत्व गर्नुहुने अग्रजहरु प्रति उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।
३) हामीहरुलाई जनताले विश्वास गरी सुम्पिएको कार्य जिम्मेवारी सम्हालेको तीन वर्ष पूरा भएको छ । यो तीन वर्षको अधिकांश अवधि संघीय शासन पद्धतिको संरचनागत र संस्थागत आधार तयार गर्नमा उपयोग भएको छ । शासन प्रक्रियामा भूइँ तहका नागरिकहरुको पहुँच¸ प्रतिनिधित्व¸ सहभागिता र अपनत्व सिर्जना गरी शासन र विकास पद्धतिलाई दिगो¸ मितब्ययी र नागरिक मैत्री बनाई आधारभूत तहबाटै शासन सञ्चालन गर्ने संघीयताको मूल मर्म रहेको छ । यस मर्मलाई आत्मसात गरी स्थानीय प्राथमिकता र आवश्यकता सम्बोधन हुनेगरी नीति¸ कानून र योजना निर्माण¸ कार्यान्वयन¸ अनुगमन र मूल्याङ्कन समेत स्थानीय स्तरबाटै हुने भएकोले विगत तीन वर्षको अवधिमा सोही बमोजिम नागरिकले अनुभूत गर्ने गरी आधारभूत कामहरुको प्रारम्भ भएको छ ।
४) “स्वच्छ ,सफा, समृध्द, सुन्दर — महालक्ष्मी नगर” को दीर्घकालीन लक्ष्य तय गरी पहिलो नगर सभाबाट पाँच वर्षे नगर विकास कार्ययोजना तयार गरी कार्यान्वयनमा लगिएको तीन वर्ष पूरा भएको छ । कार्ययोजनाले तय गरेका लक्ष्य प्राप्तिका लागि आर्थिक, सामाजिक, सांस्कृतिक, भौतिक विकासका पूर्वाधारहरु तयार गरेका छौं । स्रोत साधन¸ भौतिक पूर्वाधार, दक्ष जनशक्ति, लगायतका सीमितताका बाबजुद पनि हामी लक्ष्यउन्मुख रहेका छौं ।
५) नगरपालिकाले विगत तीन वर्षको अवधिमा सीमित स्रोत साधनका बाबजुद पनि भौतिक पूर्वाधार विकास तर्फ उल्लेख्य प्रगति हासिल गरेको छ । भौतिक पूर्वाधारतर्फ नगरपालिका, संघ¸ प्रदेश र निर्वाचन क्षेत्र विकास कार्यक्रम समेतबाट हालसम्म करिब ३५ कि.मि. सडक ग्राभेल तथा टेवा पर्खाल लगाई स्तरोन्नती, १२ कि.मि. सडक कालोपत्रे, १४ कि.मि. सडकमा ढल तथा ड्रेन निर्माण, ८ कि.मि. सडक ढलान तथा ब्लक छाप्ने काम सम्पन्न भएको छ । त्यसै गरी वडा नं ९ र १० मा करिब ४ कि.मी. पैदल मार्ग र साइक्लिङ मार्ग निर्माण भएको छ ।
६) प्रदेश तथा संघीय सरकारसँगको सहलगानीमा राधाकृष्णमार्ग — सुन्दरमार्ग, कृष्ण मन्दिर — गोदावरी खोला सडक, लुभु गोदावरी खोला — माथिल्लो चौतारा सडक निर्माण कार्य सञ्चालनमा रहेको छ । सिद्धिपुर स्कुलचोक देखि विष्णुडोल संखादेवी सडकको स्तरोन्नती एवम् कालोपत्रे गर्ने कार्य सुरु भएको छ । साथै आगामी आ.व. मा समेत प्रदेश तथा संघीय सरकारसँगको सहलगानीमा ठुला तथा नगरको सम्वृद्धिसँग जोडिएका योजनाहरु कार्यान्वयनमा जोड दिइने छ ।
७) नगरको समृद्धिसँग प्रत्यक्षरुपमा जोडिएको कृष्ण मन्दिर —गोदावरी खोला सडक खण्ड विस्तारको काम सूरु गरिएको छ साथै सोही सडकखण्डको गोदावरी खोलामा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
८) नगरको खानेपानी समस्याको समाधानको निम्ति वडा नं. १ को खानेपानी ट्यांकी, सीतापाखा खानेपानी ट्यांकी तथा डिप वोरिङ, वोजे खानेपानी आयोजना¸ भोजेपोखरी खानेपानी ट्यांकी निर्माण, आरुवोट — ज्यागटा खानेपानी योजना, सशम्भु ठुलाघरे खानेपानी आयोजना, वडा नं. १० लिफ्टिङ प्रविधिसहितको खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा रहेका छन् । खानेपानीको श्रोत व्यवस्थापन गर्नको लागि नगरपालिका भित्र रहेका विभिन्न १६ स्थानमा भूमिगत पानीको श्रोत सम्भाव्यता अध्ययन गर्ने कार्य काठमाण्डौ उपत्यका खानेपानी वोर्ड सँगको समन्वयमा सम्पन्न भएको छ । त्यसै गरी वडा न.१ देखि ४ सम्म मेलम्ची खानेपानी आयोजनाको पाइप लाईन विस्तार कार्यको सर्भे तथा डिपिआर निर्माण कार्य सम्पन्न भइसकेको छ भने वडा नं ५ मा समेत पाइप लाईन विस्तारको सर्भे तथा डि.पि.आर. तयारी कार्य सुरु भएको छ ।
९) नगरको आर्थिक विकास तथा पर्यटकीय पुर्वाधारहरु विकास गर्ने उद्धेश्यले मनमोहन पार्क तथा भ्यू टावर निर्माण, लाकुरीभन्ज्याङ्ग खेल मैदान निर्माण, भैरवस्थान पार्क निर्माणको डि पि आर तयार गरी विभिन्न निकायहरुमा योजना कार्यान्वयनका लागि बजेट माग गरिएको छ । त्यसैगरी गणेशमान पार्क निर्माणको लागि समेत बजेट माग गरि पठाइएको छ ।
१०) यो ३ वर्षको अवधिमा नगरपालिका क्षेत्र भित्र सार्वजनिक यातायात सुविधामा उल्लेख्य प्रगति भएको छ । नगरपालिकाको सबै क्षेत्रमा सार्बजनिक यातायातको पहुँच पुर्याइएको छ । साझा यातायातसँगको लगानी साझेदारीमा रत्नपार्क देखि ढुङ्गिनसम्म नियमित एवम् सुलभ सार्वजनिक यातायात सेवा उपलब्ध गराइएको छ ।
११) नगरपालिकाले यो तीन वर्षको अवधिमा विभिन्न क्षेत्रमा देशकै अग्रणी मानक स्थापित गरेको छ, यस्ता केही मानकहरुमा मानवमलमूत्र व्यवस्थापन¸ शिक्षा क्षेत्रमा भएका सुधारहरु जस्तै छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड वितरण¸ परियोजनामा आधारित व्यावहारिक शिक्षण सिकाइ पध्दतिको सुरुवात¸ शिक्षालाई संस्कृति र प्रकृतिसँग जोड्ने स्थानीय पाठ्यक्रम लागू¸ प्राविधिक शिक्षाको विस्तार¸ नगरभित्रका संस्थागत विद्यालयमा अनिवार्य रुपमा १० प्रतिशत छात्रवृत्ति¸ नगर क्षेत्र भित्रका गरीब¸ दलित र जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति¸ श्रम बैंक निर्माण र कार्यान्वयन¸ उद्यमशीलता विकास कोष सञ्चालन¸ साझेदारी शासन¸ सूचना प्रविधिको प्रयोग, पारदर्शी एवम् जवाफदेही पद्धतिको अवलम्बन जस्ता सुशासनका आधारभूत पक्षहरुको सुनिश्चितता प्रमुख रहेका छन् ।
१२) स्वास्थ्य सेवामा पनि नगरपालिकाले विगत तीन वर्षको अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । लुभु प्रथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको¸ उक्त केन्द्रबाट विशेषज्ञ सेवा सहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन रेडेन्ट वार्मर, इ. सि. जि. लगायत अन्य स्वास्थ्य उपकरणहरु थप गरिएको¸ बर्थिङ सेन्टर प्रभावकारी रुपमा सञ्चालन गरिएको, निःशुल्क औषधिहरु वितरण तथा मेडिकल सेवालाई थप गुणस्तरीय बनाइएको छ । नगर क्षेत्रभित्रका ९४ प्रतिशत बालबालिकामा खोप सेवा पुर्याइएको छ । त्यसैगरी किष्ट मेडिकल कलेजसँग सम्झौता गरी नगरवासीहरुलाई १५ प्रतिशत छुटको व्यवस्था मिलाईएको¸ किष्ट सँगको साझेदारीमै कोभिड १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामको लागि ६० बेडको आइसोलेसन वार्ड निर्माण¸ २२ बेडको आइसीयूको व्यवस्था गरिएको छ । नगरभित्र स्वास्थ्य सामग्री अभाव हुन दिइएको छैन साथै कोभिड – १९ सङ्क्रमणको शंकास्पद एवम् अन्य विरामीहरुलाई ४ वटा एम्बुलेन्सबाट निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने व्यवस्था मिलाईएको छ । यस अवधिमा नगरपालिकाबाट संचालित एम्बुलेन्सबाट करीब ५७० जनाले निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका छन् ।


१३) विगत ३ वर्षको अवधिमा संघीय सरकारबाट प्राप्त नमूना कानुनहरुसमेतलाई आधार मानी हालसम्म १२ वटा ऐन¸ ३ वटा नियमावली¸१९ वटा कार्यविधि¸ ३ वटा निर्देशिका र २ वटा नियम गरी जम्मा ३९ वटा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याइएका छन् साथै अन्य आवश्यक कानूनहरु तर्जूमाको क्रममा रहेका छन् ।
१४) कोभिड—१९ को महामारीका कारण नगरवासीका दैनिक जनजीवन एवम् जनजिवीकामा गम्भीर असर पुगेको छ यसैगरी चालु वर्षका विकास निर्माणका कार्यमा ठूलो अवरोध पुगेको छ । विकास निर्माणका लागि विनियोजित रकम कोरोना रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्नु परेको छ । योजना कार्यन्वयनको मुख्य समयमा भएको लकडाउनका कारण हरसंभव प्रयासका वावजुद पनि विकास निर्माणका कार्यहरु अगाडि बढाउन सकिएन । यसले गर्दा आगामी आर्थिक वर्षमा समेत स्रोत परिचालन र आर्थिक विकासको क्षेत्रमा गम्भीर असर पर्ने आँकलन गरिएको छ ।
१५) “Unite to Fight Against Corona Virus COVID-19” को थिम सहित कोभिड—१९ को महामारी रोकथाम तथा नियन्त्रणका सबै पक्षहरुमा नगरपालिकाले समयमै उच्च सतर्कताकासाथ नीति¸कानून र निर्णयहरु गरी पर्याप्त तयारीका साथ विभिन्न सहयोगी संस्थाहरु तथा दाताहरुको समन्वय र साझेदारीमा सतर्कता पूर्वक सघन अभियान सञ्चालन गरेकोले नगरवासीहरुलाई हालसम्म सुरक्षित राख्न सफल भएको छ । यसका लागि समयमै contract tracing Team को गठन गरी नगरभित्र विदेश तथा उपत्यका वाहिरबाट आएका तथा जोखिममा रहेर सेवा प्रदान गरिरहेका व्यवासायीहरु¸ कर्मचारीहरु¸ प्रहरीहरु¸ स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको ५ चरणमा करिव १३ सय जनाको कोरोना परीक्षण गरिएको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधी¸ उपकरण¸ सुरक्षाका सामग्री तथा राहत समेत समयमै प्रभावकारी ढंगले वितरण गरिएको छ । श्रम बैंकमार्फत राहतलाई कामसँग जोडेर प्रभावकारी ढंगले कार्यान्वयन गरिएको छ । यस महामारीको अवधिमा नगर क्षेत्रमा कसैलाई भोकै बस्न नपर्ने व्यवस्था मिलाईएको छ । कोभिड संक्रमणको जोखिममा रहेका व्यक्तिहरुलाई सुरक्षित रुपमा राखी संक्रमण विस्तार हुन नदिन वडा नं ५, ६ र ७ मा सुरक्षित आवास गृह/क्वारेन्टीन स्थापना गरिएको छ । आवश्यकताको आधारमा अन्य वडाहरुमा समेत सुरक्षित आवास गृह/क्वारेन्टीन स्थापना गर्ने कार्यक्रम रहेको छ । कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणको कार्यमा सहयोग पुर्याउन हुने सम्बन्धित सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु र यस महामारीको प्रभावलाई पूर्ण रुपमा परास्त गर्नका लागि सबैको निरन्तर साथ सहयोग र साझेदारीको अपेक्षा गर्दछु ।
१६) प्रतिकूल अवस्थाका बाबजूद पनि हामी विधि र पद्धति निर्माण¸ कर्मचारीहरुको दक्षता¸ क्षमता र सोचमा रुपान्तरण तथा जनप्रतिनिधिहरूको क्षमता अभिवृद्धिका लागि अनुभव र अध्ययन गर्दै, सिक्दै अगाडि बढिरहेका छौं । नगरपालिकाको स्वच्छ, सफा, समृद्ध, सुन्दर- महालक्ष्मी नगरको दीर्घकालीन लक्ष्य सहित स्वीकृत गरिएको पाँच वर्षे नगर विकास कार्ययोजनाको निरन्तरता तथा कोभिड—१९ को महामारी विरुद्दको लडाइँ र यसका असरलाई न्यूनीकरण गरी आर्थिक पुननिर्माणको दिशामा यस वर्षको नीति तथा कार्यक्रम अगाडि सारिएको छ ।
१७) प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्ने क्रममा नगरपालिकाको दुरदृष्टि¸ विकास र सुशासनका आवश्यकता एवम् प्राथमिकताहरु¸ पन्ध्रौं योजनाका लक्ष्य र प्राथमिकताहरु¸ दीगो विकासका लक्ष्यहरु¸ लैङ्गिक समानता¸ समावेशीकरण¸ सामाजिक रुपान्तरण तथा संघ र प्रदेश सरकारका नीतिहरुसँग तादाम्यता कायम गर्ने प्रयास गरिएको छ । त्यसैगरी कोभिड—१९ लगायत सबै प्रकारका महामारी र विपदबाट नागरिक जीवनको रक्षा गर्दै आर्थिक तथा सामाजिक विकासलाई निरन्तरता दिइनेगरी नीति तथा कार्यक्रमहरु तयार गरिएको छ ।
अब म आगामी आर्थिक वर्ष २०७७।७८ को लागि प्रस्तावित विषय क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

पूर्वाधार विकासतर्फ
१८) आगामी आर्थिक वर्षमा जग्गा समेतको व्यवस्था गरी सुविधा सम्पन्न नगरकार्यपालिकाको कार्यालय भवन र वडा नं १ मा बहुउद्देशीय भवन निर्माणको कार्य तदारुकताका साथ अगाडि बढाइने छ¸ साथै वडा कार्यालय भवनहरुको निर्माण¸ मर्मत र सुधार कार्यलाई निरन्तरता दिइनेछ । निर्माणाधिन वडा कार्यालयहरुको निर्माण कार्य आगामी आ. व. भित्र पुरा गरिनेछ ।
१९ ) वृहत नगर विकास योजना सहितको नगरपालिकाको आवधिक योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।
२० ) नगरका आर्थिक¸सामाजिक¸सांस्कृतिक अवस्था र संभावनाहरु सहितको नगर प्रोफाइल तयार गरिनेछ ।
२१ ) महालक्ष्मी नगरपालिकाको नगर यातायात गुरुयोजनाको आवश्यकतानुसार परिमार्जन गरिनेछ ।
२२ ) आगामी २ वर्षभित्र नगरका ६ मिटरभन्दा बढी चौडा भएका सवै सडकहरु कालोपत्रे गरिने छ । अन्य सडकहरुलाई समेत क्रमश स्तरोन्नती गर्दै लगिने छ ।
२३ ) स्थानीय, ग्रामीण र कृषि सडक सम्बन्धी मापदण्ड, योजना, कार्यान्वयन र नियमन गरिनेछ । पूल, पुलेसा, सिंचाई र तटबन्ध सम्वन्धी नगरपालिकाको गुरुयोजनाका आधारमा स्तरोन्नतिका साथै आयोजनाहरुको पहिचान, अध्ययन, कार्यान्वयन र मर्मत संभार गरिनेछ ।
२४ ) वडा नं ८ र ९ को सार्वजनिक जग्गामा सुविधासम्पन्न पार्क निर्माण गरिनेछ ।
२५ ) महालक्ष्मी नगरपालिका भित्र निर्माण हुने नयाँ भवनमा सिल्ड गरेको सेप्टी ट्यांक र सोकपिट राखेर मात्र निर्माण गर्नुपर्ने व्यवस्थालाई कडाईको साथ लागु गरिनेछ । भवन निर्माणको नियमित अनुगमनलाई निरन्तरता दिइनेछ ।
२६ ) भूकम्प पीडितहरुको घर निर्माणमा देखिएका समस्याहरु समाधान गर्न संघीय सरकारसँग समन्वय गरिनेछ । भुकम्प पिडितहरुलाई संघीय सरकारबाट उपलब्ध गराएको नमुना नक्सा बमोजिम घर बनाउँदा नक्सा पास दस्तुरमा पूर्ण छुट र यस नगरपालिकाबाट विगतमा नक्सा स्वीकृत गर्दा दिई आएको पचास प्रतिशत शुल्क छुटको सुविधालाई निरन्तरता दिइनेछ ।
२७ ) विद्युत र टेलिफोन तारलाई भूमिगत रुपमा व्यवस्थापन गर्न सम्बन्धित निकायसँग समन्वय एवम् पहल गरिनेछ ।
२८ ) २०७८ बैशाख मसान्तभित्र वडास्तरका योजनाहरु सम्पन्न गर्ने पहिलो, दोस्रो र तेस्रो वडाहरुलाई वडा समितिले सिफारिस गरेमा क्रमशः पन्ध्र, दश र पाँच लाख बराबरको थप योजना स्वीकृत गरि कार्यान्वयन गरिने छ ।
२९ ) नगरक्षेत्रभित्रका सार्वजनिक जग्गाहरुको उचित संरक्षण तथा व्यवस्थापन गरिनेछ । नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको खोजी, सिमाङ्कन, नक्साङ्कन, संरक्षण र उपयोगमा सम्बन्धित वडालाई जिम्मेवार बनाइनेछ ।
३० ) नगरपालिकाभित्र रहेका सडकहरुलाई वर्गीकरण गरी आठ मिटरभन्दा तलका र भित्री सडकहरुलाई समुदायसँगको साझेदारीमा सवै मौसमहरुमा सञ्चालनयोग्य बनाइने नीतिलाई अझै प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
३१ ) वडा नं ९ को उपयुक्त स्थानमा नगर बसपार्क निर्माण कार्य अघि बढाइनेछ ।
३२ ) कृष्णमन्दिर मानेदोभान मूल सडक निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन संघ, प्रदेश सरकार सँग विशेष पहल गरिनेछ । ढुङ्गीन – मानेदोभान सडक खण्डमा बाह्रै महिना यतायात सुचारु गर्न नियमित मर्मतसंभारको व्यवस्था मिलाईनेछ ।
३३ ) नगरपालिका भित्रका ग्यासका खानीहरुको उपयोगको संभावनाको अध्ययनको लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
३४ ) मूल्याङ्कनको वस्तुगत मापदण्ड बनाइ नगरभित्रका उत्कृष्ट कार्य गर्ने उपभोक्ता समिति तथा टोल विकास संस्थाहरुलाई सम्मान गरिनेछ ।
३५ ) महालक्ष्मी नगरपालिका वडा नं ६ र ८ को बाक्लो वस्ती (नगरपालिकाको सम्पदा क्षेत्र) मा परम्परागत मोहडा हुने गरि नगरपालिकाको मापदण्ड अनुसार भवन बनाउँदा नक्सा पास दस्तुरमा ७५ प्रतिशत छुट दिने नीतिलाई निरन्तरता दिइने छ ।
३६ ) नगरक्षेत्र भित्र हुने जग्गाको प्लटिङ गर्ने कार्यलाई व्यवस्थित एवम् नियमन गरिने छ । निश्चित मापदण्ड एवम् कार्यविधि स्वीकृत गरी प्लटीङ स्वीकृतिलाई करका दायरामा ल्याइने छ ।
३७ ) गोदावरी खोलाको संरक्षणका तथा करिडोर निर्माणको डि. पि. आर. बमोजिम योजना कार्यान्वयनको लागि सम्बन्धित निकायसँग पहल गरिने छ ।
३८ ) नगर भित्रका पूर्वाधारको नियमित मर्मत सम्भार गर्न मर्मत सम्भार कोष स्थापना गरिने छ ।
आर्थिक विकासतर्फ
राजस्व परिचालन

३९ ) कोभिड —१९ का कारण उत्पादन र लगानीमा परेको असरलाई सम्बोधन गर्ने गरी राजस्व र करका संरचनामा पुनरावलोकन गरिने छ । अव्यवहारिक एवम् असन्तुलित करका दर समायोजन बाहेक करको दरमा बृद्धि गरिने छैन।
४० ) नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन लगायतका संघीय तथा प्रदेश कानून बमोजिम कर संरचना र कर प्रशासनलाई परिमार्जन¸ व्यवस्थित र सुदृढीकरण गरिनेछ ।
४१ ) यस नगरपालिकाभित्र नागरिकता प्रमाणपत्र सिफारिस, भूकम्प पीडितलाई दिने सिफारिस, सर्जमिन मुचुल्का, विपन्नलाई दिइने सिफारिस, ३५ दिनभित्र दर्ता हुने पन्जीकरण, स्वास्थ्य उपचार, छात्रवृत्ति, वडाबाट नगरपालिकामा गरिने सिफारिस, नगरपालिकाबाट अन्य सरकारी निकायमा दिईने सिफारिसमा कुनै शुल्क र दस्तुर नलिइने नीतिलाई निरन्तरता दिइनेछ ।
४२ ) हालसम्म व्यवसाय दर्ता नगर्ने व्यवासायीहरुलाई आगामी आर्थिक वर्षको ६ महीनाभित्र दर्ता हुन आएमा व्यवसाय दर्ता एवम् हालसम्मको बार्षिक शुल्कमा एक पटकको लागि २५ प्रतिशत छुट दिई व्यवसाय दर्ता गरिने छ ।
४३ ) नगरपालिकाको राजश्व सम्भाव्यता अध्ययन गरि सोको आधारमा राजस्वको दायरा विस्तार गरिनेछ ।
४४ ) पुष मसान्तभित्र घर बहाल कर तिर्ने करदाताहरु मध्ये गोलाप्रथाबाट १० जनालाई नगरपालिकाको तर्फबाट सम्मान गरिने छ ।
४५ ) व्यवसाय करतर्फ पुँजीको आधारमा व्यवसायको वर्गीकरण गरी कर निर्धारण गरिनेछ भने वार्षिक शुल्क बुझाएपछि स्वतः व्यवसाय नवीकरण गरिने व्यवस्था मिलाईनेछ ।
४६ ) उद्योग वाणिज्य संघका प्रतिनिधिहरु¸ घरेलु तथा साना उद्योग संघका प्रतिनिधि, जनप्रतिनिधि¸ कर्मचारी¸ कर सङ्कलन स्वयंसेवकहरु समेतको सहभागितामा घर बहाल र व्यवसाय कर संकलन अभियान एवम् कर सचेतना कार्यक्रम सञ्चालन गरी नगरभित्रका सम्पूर्ण व्यवसायहरुको अभिलेखीकरण गरिनेछ ।
४७ ) राजस्व प्रशासनलाई अझै सक्षम¸ पारदर्शी¸ प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाइनेछ ।
४८ ) प्रत्येक वडामा उत्कृष्ट ३ जना करदाता छनोट गरी सम्मान गरिनेछ ।
४९ ) कर दिवसको दिन नगरपालिका तथा वडा कार्यालयमा कर तिर्ने आउने पहिलो करदातालाई नगरपालिका र वडाबाट सम्मान गरिने छ ।
रोजगार¸ उद्योग तथा वाणिज्य
५० ) उद्यम गर्न चाहने युवा एवम् लक्षित वर्गले समुहमा आवद्द भई व्यवसाय गर्न चाहेमा व्यवसायिक प्रस्तावको आधारमा कर्जा सहजीकरण विउ पुँजी, प्रविधि हस्तान्तरण, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम सहित नगर प्रमुख युवा उद्यमशीलता विकास कार्यक्रम संचालन गरिने छ । यस कार्यक्रम संचालनको लागि उद्यमशीलता विकास कोषको स्थापना गरी कोष संचालनको कार्यविधि स्वीकृत गरी लागु गरिनेछ ।
५१ ) नगरपालिकाभित्रको श्रम बजारलाई व्यवस्थित गरी सबैलाई न्यूनतम रोजगारी उपलब्ध गराउन नगरपालिकामा श्रम बैंक स्थापना गरिनेछ । श्रम बैंकमा नगरभित्रका श्रमिक तथा कामहरुको अभिलेखीकरण गर्ने तथा विपदका समयमा अनौपचारिक तथा असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई न्यूनतम रोजगारीका साथै विपन्न वर्गका गर्भवती, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय बालबालिकाहरुलाई श्रममा संलग्न नगराई राहत वितरण गर्न श्रम विकास कोषको स्थापना गरिनेछ ।
५२ ) समूह वा सहकारीमा आवद्ध भई उद्यम गर्न चाहने प्रत्येक वडाका २०/२० जनालाई १ देखि ३ महिने सीपमूलक तालिम प्रदान गरी समूह वा सहराकारीको व्यवसायिक प्रस्तावको आधारमा बीउ पूँजी, प्रविधि हस्तान्तरण, कर्जा सहजीकरण लगायतको सहयोग गरी एकजनाले पाँचजनालाई रोजगारी सिर्जना गर्न सक्ने बनाइ आगामी आ. व. भित्र नगर क्षेत्रका एक हजार जनालाई रोजगारी सिर्जना गरिनेछ ।
५३ ) वातावरण प्रदुषण गर्ने उद्योगहरु स्थापना एवम् सञ्चालनलाई निरुत्साहन गरिनेछ ।
५४ ) महिला¸ आदिवासी/जनजाति¸ अपाङ्गता भएका व्यक्ति लगायतका लक्षित वर्गका व्यक्तिहरुले सामूहिक रुपमा स्थापना एवम् सञ्चालन गरेका उद्योग व्यवासाय दर्ता दस्तुर एवम् वार्षिक करमा ५०% छुट प्रदान गरिने छ ।
५५ ) सम्वन्धित निकायको समन्वयमा उपभोक्ता सचेतना अभिवृद्धि गरी स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गरिनेछ । बजार अनुगमन निर्देशिकाको प्रभावकारी कार्यन्वयन गरिने छ ।
५६ ) संघ तथा प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा नगर लघु उद्यम ग्राम स्थापना गरिनेछ ।
५७ ) नगरक्षेत्रभित्रका उद्योग तथा उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति लिइने छ ।
५८ ) परम्परागत ढाका, सुकुल, माटोका भाँडाकुँडा, हस्तकलाका घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्न वार्षिक करमा २५ प्रतिशत कर छुटको व्यवस्था गरिनेछ ।
५९ ) नगरपालिकाको पहिचान झल्कने परम्परागत हस्तकला¸ ढाका¸ सुकुल आदि उत्पादनको बजारीकरणमा सहयोग गर्नको लागि कोसेली घर स्थापना एवम् सञ्चालनमा सहयोग गरिने छ ।
६० ) १०० वाट सम्मका एफ. एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन तथा स्थानीय क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर र केबुल तथा तारविहीन टेलीभिजन प्रसारणको अनुमति, नवीकरण र नियमन सम्बन्धी आवश्यक कानून र संरचना निर्माण गरिनेछ ।
सहकारी
६१ ) सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा प्रवर्द्धन¸ सहजीकरण, सबलीकरण र विकास गरिनेछ ।
६२ ) सबै सहकारीहरुलाई अभिलेख प्रणालीभित्र ब्यवस्थित गरी क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
६३ ) निष्क्रिय सहकारी संस्थाहरुको मर्जर वा विघठन गरिनेछ । विघठित सहकारीहरुलाई लिक्वीडेसन प्रक्रियामा लगिनेछ।
६४ ) सहकारीका सदस्यहरुको क्षमता विकासका लागि सहकारी व्यवस्थापन¸ सहकारी लेखा¸ सहकारी सचेतना लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । निश्चित आधार तयार गरी सम्बन्धित सहकारी संस्थाले ८०% र नगरपालिकाबाट २०% लागत साझेदारी गर्ने गरी यस्ता कार्यक्रम संचालन गरिने व्यवस्था मिलाईनेछ ।
६५ ) सहकारीका सिद्धान्त, मुल्य, मान्यता अनुरुप सहकारी संस्थाहरु सञ्चालनमा सहयोग, समन्वय एवम् नियमन गर्न सहकारीको अनुगमनलाई प्रभावकारी बनाइनेछ ।

कृषि¸सिंचाइ¸बन तथा पशु विकास
६६ ) “बाँझो जमीन नछोडौं¸ कृषि उत्पादन बढाऔ¸कम्तीमा तरकारीमा आत्मनिर्भर बनौं ” भन्ने अभियानका साथ नगरभित्रका सवै प्रकारका बाँझो जग्गाहरुमा खेती गर्ने व्यवस्था मिलाईनेछ । आँफै खेती नगर्ने जग्गा धनीहरुको जग्गामा थप ह्रासकर लगाइनेछ । बाँझो जग्गामा छिमेकी वा भूमिहीन श्रमिकहरुले खेती गर्न चाहेमा सम्बन्धित वडाको समन्वयमा जग्गाधनीको समेत सहमति लिइ खेती गर्ने व्यवस्था मिलाईने छ ।
६७ ) कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण तथा बजारीकरणमा जोड दिई यस नगरलाई कृषि पर्यटनको रुपमा विकास गरिनेछ । माध्यमिक तहका विद्यार्थीहरुलाई कृषि कर्ममा प्रयोगात्मक रुपमा संलग्न गराई कृषि क्षेत्रलाई कृषि शिक्षालयको रुपमा विकास गरिनेछ ।
६८ ) वडा नं १ देखि ५ सम्म कौसी खेती तथा करेसाबारी खेतीलाई प्रोत्साहन गरिनेछ । त्यसै गरी वडा नं ६ र ७ मा लहरे तरकारी¸ वडा नं ८ मा च्याउ र पुष्प खेती¸ वडा नं ९ मा गोलभेंडा तथा वडा नं १० मा अलैंची र ओखरको पकेट क्षेत्र घोषणा गरी उत्पादन, भण्डारण तथा बजारीकरणका लागि कार्यक्रम ल्याइनेछ ।
६९ ) नगरपालिकाभित्र Floriculture को प्रवर्द्धनमा उच्च प्राथमिकता दिइने छ ।
७० ) विदेशबाट फर्किएका युवाहरुलाई सामूहिक कृषिमा प्रोत्साहन गरिनेछ । समूह वा सहकारीमा आवध्द भइ सामूहिक खेती तथा पशुपालन गर्ने किसानहरुको उत्पादन बजारसम्म ढुवानी गर्ने सानो सवारी साधन तथा ठेलागाडा खरीदमा नगरपालिकाबाट अनुदान दिइनेछ ।
७१ ) कृषि उत्पादनको हानी नोक्सानीमा राहात तथा क्षतिपूर्तिका लागि कृषक राहात कोष स्थापना गरिनेछ।
७२ ) कम्पोष्ट र प्राङ्गारिक मलको प्रयोगमा प्रोत्साहन गरिने छ ।
७३ ) कृषिमा युवाहरुलाई प्रोत्साहन गर्न उद्यमशीलता विकास कोष मार्फत उन्नत नश्लका वीउ विजन, प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग गरिने छ ।
७४ ) किसानको घरघरमा कृषि तथा पशु प्राविधिक सेवा उपलब्ध गराइने छ ।
७५ ) कृषिमा यान्त्रीकरण गरी उत्पादन वृद्दि गर्ने नीतिलाई उच्च प्राथमिकता दिइने छ ।
७६ ) संघ¸ प्रदेश तथा स्थानीय सरकारको संयुक्त लगानीमा तरकारी तथा फलफूल बजार र शीतभण्डार निर्माण गरिनेछ ।
७७ ) सिंचाइको लागि कुलो मर्मत तथा थोपा सिंचाइमा सहयोग गरिनेछ ।
७८ ) तरकारी खेतीमा हानीकारक विषादी प्रयोगलाई नियन्त्रण गरी IPM पध्दतिलाई प्रोत्साहन गरिनेछ ।
७९ ) कृषकहरुलाई धान¸ तरकारी¸ फलफूल तथा घाँसका उन्नत नश्लका वीउ विजनहरु अनुदानमा वितरणको व्यवस्था मिलाईनेछ ।
८० ) समूह वा सहकारीमा आवध्द भइ पशुपालन गर्ने कृषकहरुलाई पशु आहार व्यवस्थापन अन्तर्गत हे मेकिङ¸ साइलेज तयारी तथा दुग्ध संकलन कन्टेनर¸ दुध दुहुने मेशीन¸ च्याप कटर मेशिन¸ काउ म्याट खरीदमा अनुदान प्रदान गरिने छ ।
८१ ) स्वस्थ र स्वच्छ मासु उत्पादन एवम् वितरणका लागि आवश्यक सहयोग गरिने छ ।
८२ ) वडा नं १० मा बाख्रा वडा नं ७¸ ८ र ९ लाई गाइपालनको पकेट क्षेत्रका रुपमा विकास गरिने छ ।
८३ ) सवल र आत्मनिर्भर अर्थब्यवस्थाका लागि कृषिमा व्यवासायिकरण¸ उच्च मूल्य कृषि र कृषि मूल्य अभिवृद्दि श्रङ्खलामा युवाहरुको संग्लग्नतालाई प्रोत्साहन गरिने छ।
८४ ) कृषितर्फ भर्टिकल फार्मिङ¸ 3G Cutting जस्ता नयाँ ज्ञान¸ सीप र प्रविधिलाई जनस्तरमा उपयोगी बनाउन सहयोग गरिने छ ।
८५ ) कृषि तथा पशु प्रोफाइल तयार गरी कृषि तथा पशु विकास कार्यक्रम सञ्चालन गरिने छ ।
८६ ) भू उपयोग नीति तर्जुमा गरी जमीनको उपयोगलाई व्यवस्थित गरिने छ ।
८७ ) राजकुलो र परम्परागत रुपमा चलेका सिंचाइ कुलोहरुलाई प्राथमिकताको आधारमा मर्मत सम्भार गरिने छ ।
८८ ) गोदावरी खोलाको उपयुक्त स्थानमा हिउँदे ड्याम बनाई सिँचाईको व्यवस्था गरिने छ ।
८९ ) छाडा चौपाया (गाई, गोरु, कुकुर) नियन्त्रणको उचित प्रबन्ध गरिने छ । साथै जथाभावी पशु चौपाया छाड्ने कार्यमा नियमन गरिने छ ।
९० ) सामुदायिक वन संरक्षण¸ जलाधार संरक्षण तथा पर्यावरण विकासका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ ।
९१ ) विभिन्न संघसंस्थाहरुको साझेदारीमा छाडा कुकुरहरुको वंध्याकरण गरिने छ ।
९२ ) सामुदायिक वनसँगको साझेदारीमा वन संरक्षण र उपयोलाई उत्पादनसँग जोड्ने नीति लिइने छ ।

संस्कृति पर्यटन तथा सम्पदा संरक्षण
९३ ) नगरभित्रका आर्थिक¸ सामाजिक¸ सांस्कृतिक एवम् पर्यटकीय गतिबिधिहरु समेटिएको वृत्तचित्र निर्माण गरी व्यापक प्रचार प्रसार गरिनेछ । नगरको प्राचीन संस्कृति, सम्पदा, जैविक विविधता तथा दृष्यावलोकन जस्ता पर्यटकीय पूर्वाधारको उपयोग मार्फत पर्यटकलाई आकर्षण गरिने छ ।
९४ ) परम्परागत कला संस्कृति झल्किने गरी सम्पदा वस्तीभित्र आवास गृह निमाण गर्दा नक्सा पासमा लाग्ने दस्तुरमा ७५ प्रतिशत छुट सुविधा दिइने व्यवस्था मिलाईनेछ ।
९५ ) नेवारी संस्कृति एवम् परम्परा संरक्षण गरी आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न वडा नं ६ र ८ मा नेवारी संग्रहालय र वडा नं १० मा तामाङ्ग संग्रहालय स्थापना गरिनेछ । त्यसैगरी वडा नं १ को कृष्ण प्रणामी मूलमन्दिर परिसरमा अन्तराष्ट्रिय धार्मिक सङ्ग्रहालय बनाउन आवश्यक पहल तथा सहयोग गरिने छ ।
९६ ) नगर क्षेत्रको भाषा साहित्यको उत्थानका लागि नगर कला साहित्य परिषद स्थापना गरी परिषदको सिफारिसमा गीत संगीत, नाटक, भाषा, साहित्य, परम्परागत बाजा लगायतका मौलिक संस्कृतिको संरक्षण र संवर्धन गरिने छ । नगरको कला, साहित्य, संस्कृतिमा विशिष्ट योगदान पुराउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
९७ ) नगर भित्र रहेका पुरातात्विक एवम् धार्मिक महत्वका सम्पदाहरुको संरक्षण र संवर्धन गरिनेछ । गुठी तथा ट्रष्टहरुको व्यवस्थापन एवम् संरक्षणमा सहयोग गरिने छ ।
९८ ) स्थानीय कला, संस्कृति तथा नाट्य विधालाई प्रोत्साहन गर्न नाटय केन्द्रको स्थापना गरिनेछ । परम्परागत धार्मिक, ऐतिहासिक क्षेत्र र संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गरिनेछ । सम्पदा संरक्षणमा स्थानीयवासीलाई सहभागी गराई सबै धर्म र विचारको उच्च सम्मान गरिनेछ ।


९९ ) नगर भित्रको सम्पदा वस्तीभित्र रहेका भित्री सडकहरुलाई सम्पदा वस्तीको मोलिक स्वरुपमा अगाडि बढाउने गरी मापदण्ड तयार गरिने छ।
१०० ) नगर क्षेत्रभित्र रहेका श्रृङ्ग ऋषि गुफाजस्ता प्राचीन महत्वका धार्मिक स्थलहरुलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ ।
१०१ ) प्राकृतिक सम्पदाहरुको विकास, पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, परम्परागत जात्रा, पर्व तथा संस्कृतिको जगेर्ना गरी पर्यटन प्रवर्द्धन गरिनेछ ।
१०२ ) लुभूलाई औद्योगिक क्षेत्र, सिध्दिपुरलाई सांस्कृतिक नगरी, लामाटार र लाकुरी भञ्ज्याङ्गलाई पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ ।
१०३ ) मनमोहन पार्क निर्माण र गणेशमान पार्कलाई व्यवस्थित बनाइनेछ । पर्यटन प्रवर्द्धनका लागि सार्वजनिक, निजी, नागरिक सहभागिताको आधारमा पार्क तथा होमस्टे सञ्चालन गर्न प्रोत्साहन गरिने छ ।
१०४ ) मठ, मन्दिर, स्तुपा एवम् स्तुपाको संरक्षण, सार्वजनिक स्थलमा हुने जात्रा, पर्व, पूजा आदिलाई व्यवस्थित गर्न अलग अलग व्यवस्थापन समितिहरु निर्माण गरी समिति मार्फत तत् तत् कार्यबाट हुने आय व्ययलाई व्यवस्थित र पारदर्शी बनाई परम्परागत संस्कृतिको जगेर्ना गर्न कोष स्थापना गरिने छ ।
१०५ ) वन्यजन्तु, वातावरण, प्राकृतिक सौन्दर्यको संरक्षण र प्रवर्द्धन गर्दै पदयात्रा, साइ्क्लिङ र हाइकिङ मार्गहरुको निर्माणलाई निरन्तरता दिइने छ ।
१०६ ) नगरपालिका भित्रको विशिष्टकृत र मौलिक पहिचान झल्कने कला, संस्कृति र पेशालाई जीवन्त बनाउन अन्तरपुस्ता सीप हस्तान्तरणमा सहयोग गरिने छ ।
१०७ ) नगर भित्रका प्रमुख सार्वजनिक स्थानहरुमा फ्रि वाईफाई जोनको व्यवस्थालाई विस्तार गर्दै लगिने छ।

सामाजिक विकासतर्फ
स्वास्थ्य
१०८ ) संघ र प्रदेश सँगको सहयोगमा कोभिड – १९ को विश्वब्यापी सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि नगरवासिको आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाईने छ ।
१०९ ) कोभिड—१९ कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण तथा सम्भावित अन्य सबै प्रकारका विपत्तीहरुको सामना गर्नका लागि स्वास्थ्य संस्थाको वित्तीय¸ भौतिक¸ मानवीय तथा प्राविधिक सुदृढीकरण गरिने छ । यसका लागि आगामी आ व मा विपद व्यवस्थापन कोष (कोभिड) मा आवश्यक रकम विनियोजन गरिनेछ ।
११० ) लुभू प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ बेडको अस्पतालमा स्तरोन्नति गरिनेछ । संघीय सरकारबाट लामाटारमा सुविधासम्पन्न ५० बेडको अस्पताल निर्माणको लागि विशेष पहल गरिनेछ ।
१११ ) नगरवासीको स्वस्थ्य सुविधाको लागि दुई वटा एम्बुलेन्स खरीद गरी आगामी आर्थिक वर्ष देखि निःशुल्क एम्वुलेन्स सेवा शुरु गरिनेछ ।
११२ ) वडा नं १०को लाकुरी भन्ज्याङ्गमा वर्थिङ सेन्टर निर्माण गरिनेछ ।
११३ ) हरेक वडाहरुमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
११४ ) नगर स्वास्थ्य ऐन २०७६ बमोजिम अस्पताल¸ औषधी पसल¸ जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र¸ क्लिनिक र अन्य स्वास्थ्य संस्थाहरुको दर्ता, सञ्चालन अनुमति¸ ब्यवस्थापन¸ सामाजिक उत्तरदायित्व¸ नियमन¸साझेदारीलाई व्यवस्थित गरिनेछ ।
११५ ) नगरभित्र नगर स्वास्थ्य क्लिनिकलाई अझै प्रभावकारी बनाइ बाँकी वडाहरुमा स्वास्थ्य संस्थाको विस्तार गरिने छ ।
११६ ) जनस्वास्थ्य, आपत्कालीन स्वास्थ्य, महामारी नियन्त्रण, आकस्मिक स्वास्थ्य सेवा प्रवाह, सर्ने र नसर्ने रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी योजना तयार गरी कार्यान्वयन गरिनेछ ।
११७ ) संघीय र प्रदेश सरकारसँग समन्वय गरी स्वास्थ्य बीमा अभियानलाई नगरपालिका भरी लागू गर्न आवश्यक पहल गरिनेछ ।
११८ ) सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुमा सुरु गरिएको विशेषज्ञ सेवालाई थप सुदृढ र विस्तार गर्दै निरन्तरता दिइनेछ ।
११९ ) नगर स्वास्थ्य सूचना प्रणालीलाई राष्ट्रिय र प्रादेशिक सूचना प्रणालीमा आबद्ध गरिनेछ ।


शिक्षा¸युवा तथा खेलकूद विकास
१२० ) महालक्ष्मी नगरपालिकालाई आकर्षक शैक्षिक हवका रुपमा विकास गर्नका लागि शैक्षिक संस्थाहरुको नियमन¸ अनुमति¸ अभिलेख र प्रवर्द्धन कार्यलाई अझै प्रभावकारी बनाइ विद्यार्थी केन्द्रित शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१२१ ) कोभिड १९ को सङ्क्रमणबाट शिक्षा क्षेत्रमा पर्न गएको असरलाई कम गरी विद्यार्थीहरुको शैक्षिक घण्टी पूरा हुने गरी वैकल्पिक सिकाइको भरपर्दो व्यवस्था मिलाईने छ ।
१२२ ) शैक्षिक सत्र २०७७ देखि सवै संस्थागत¸गुठी तथा सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म एक सय पूर्णाँङ्कको स्थानीय पाठ्यक्रमको पठनपाठनको व्यवस्था गरिनेछ ।
१२३ ) यसै शैक्षिक सत्रदेखि सवै प्रकारका विद्यालयहरुमा व्यवाहरिक¸ परियोजनामा आधारित शिक्षण सिकाइलाई अगाडि बढाइने छ ।
१२४ ) एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम सञ्चालन गरी शिक्षालाई उत्पादनसँग आवध्द गरिनेछ ।
१२५ ) सिटिइभिटीबाट नगरपालिकाले सम्बन्धन प्राप्त गरेको प्राविधिक शिक्षालयको सञ्चालनका लागि आवश्यक पर्ने जग्गा यकीन गरी साझेदारीमा भवन तथा पूर्वाधारहरु निर्माण गर्ने ब्यवस्था गरिने छ ।
१२६ ) सामुदायिक विद्यालयका वालविकास सहयोगीहरुको प्रोत्साहनको लागि मासिक पारिश्रमिकमा रु १ हजार थप गरिने छ ।
१२७ ) महालक्ष्मी नगरपालिका विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम सवै प्रकारका छात्रवृत्तिहरुको प्रभावकारी कार्यान्वयन गरिनेछ । यसै शैक्षिक सत्र देखि हरेक वडाबाट जेहन्दार/ आर्थिक अवस्था कमजोर भएकाबाट एकजना विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ । त्यसैगरी विगत ३ वर्षदेखि नै हरेक संस्थागत विद्यालयहरुमा स्थानीय जेहेन्दार¸दलित¸द्वन्द्वपिडीत तथा आर्थिक रुपले विपन्न स्थानीय विद्यार्थीहरुलाई प्रदान गरिंदै आएको १० प्रतिशत छात्रवृत्तिलाई निरन्तरता दिइने छ ।
१२८ ) नगरस्तरीय आधरभूत तहको परीक्षा तथा अन्य विद्यालयस्तरीय परीक्षाहरुलाई अझै स्तरीय¸विश्वसनीय¸वैध तथा प्रमाणिक बनाइ शिक्षण सिकाइ सुधारसँग आवद्द गरिनेछ ।
१२९ ) सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन सम्झौता गरी सो का आधारमा राम्रो काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्डको नीतिलाई निरन्तरता दिइनेछ ।
१३० ) २०७६ सालको कक्षा ८ को नगरस्तरीय परीक्षाको नतीजाका आधारमा उत्कृष्ट नतीजा हासिल गर्ने विद्यालय¸ विद्यार्थीहरु¸ शिक्षकहरु तथा व्यवस्थापन समितिलाई पुरस्कृत गरिनेछ ।
१३१ ) सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि इच्छुक संघ¸ संस्थाहरु¸प्रतिष्ठानहरु तथा विज्ञहरुसँग साझेदारी¸सहकार्य तथा समन्वय गरिनेछ ।
१३२ ) विद्यार्थीहरु र नगरपालिकावीचको सम्बन्ध वढाइ विद्यार्थीहरुमा नागरिक चेतना¸कर्तब्य र नगरपालिकाप्रतिको अपनत्वमा वृद्दि गर्नका लागि मेयरसँग विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१३३ ) सामुदायिक विद्यालयमा पठन पाठन गर्ने अति विपन्न, अभिभावक गुमाएका, वेपत्ता तथा शहिद परिवारका बालबालिकाहरुलाई पोशाक, पाठ्यक्रम सामाग्रीको व्यवस्था मिलाईनेछ ।
१३४) प्रत्येक सामुदायिक विदालयहरुलाई प्राथमिक स्वास्थ्य उपचार सामाग्रीको व्यवस्था गरिने छ ।
१३५ ) राष्ट्रपति रनिङ शील्ड तथा अन्य नगरस्तरीय खेलकुद कार्यक्रमहरु सञ्चालन गर्नका लागि सुविधा युक्त खेलमैदानको व्यवस्था गरिनेछ ।
१३६ ) युवा उद्यमशीलतालाई प्रोत्साहन गर्नका लागि नगरप्रमुख युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिनेछ । यस कार्यक्रम अन्तर्गत विदेशबाट फर्किएका तथा नगर भित्रका युवा जनशक्तिहरुलाई श्रम बैंकमा अभिलेखीकरण गरिनेछ र यस्ता युवाहरुको समूहहरुलाई सीपमूलक तालिम¸विउ पूँजी¸प्रविधि हस्तान्तरण¸उन्नत वीउवीजन¸बजारीकरण लगायतका सुविधाहरु प्रदान गरी रोजगारी सिर्जना गरिनेछ । यसका लागि प्रदेश स्तरमा स्थापित युवा नवप्रवर्तन/इन्कुबेसन केन्द्रमा साझेदारीका आधार बनाइनेछ ।
१३७ ) युवाहरुको खेलकूद प्रतिभा प्रष्फुटनका लागि मेयरकप खेलकूद प्रतियोगिता सञ्चालन गरिने छ ।
१३८ ) नगरपालिकामा एक यूवा सूचना केन्द्र स्थापना गरिनेछ ।
१३९ ) कोरोना महामारी रोकथाम¸नियन्त्रण लगायत अन्य विपद¸ सामाजिक सेवा लगायतका कार्यहरुमा युवा जनशक्तिको अधिकतम परिचालन गरिनेछ ।
१४० ) युवाहरुलाई कुलत तथा दुब्र्यसनमा पर्न नदिन आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१४१ ) नगरस्तरीय खेलकूद प्रतियोगिताहरु सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा यस नगरपालिकाबाट बाट भाग लिने उत्कृष्ट खेलाडीहरुलाई उच्च सम्मान र पुरस्कृत गरिने छ ।
१४२ ) नगरपालिकाभित्रका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरुमध्ये सर्वोत्कृष्टलाई सम्मान गरिने छ ।
१४३ ) विपन्न महिलाहरुको उच्च शिक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने छ ।
१४४ ) नगर क्षेत्रभित्र कम्तीमा एक घर एक स्नातक अभियान सञ्चालन गरिने छ ।

वातावरण¸ सरसफाइ¸फोहोरमैला तथा विपद व्यपस्थापन

१४५ ) नगरको फोहर ब्यवस्थापनका लागि “जथाभावी नफालौं¸ नबालौं¸ जहाँबाट आएको हो त्यहीं पठाऔं”भन्ने अभियानका साथ फोहरलाई स्रोतमा नै कुहिने र नकुहिने छुट्याइ कुहिने फोहरलाई घरघरमा कम्पोष्ट बनाउने¸ नकुहिनेलाई रिसाइकल गर्ने वा सुरक्षित विसर्जन गर्ने अभियान सञ्चालन गरिनेछ ।
१४६ ) नगरक्षेत्रको फोहरमैला निजी क्षेत्रबाट व्यवस्थापन भैरहेकोमा यसलाई नगरपालिकाको नियमनको दायराभित्र ल्याइ अभिलेख एवम् प्रवर्धन गरिनेछ ।
१४७ ) हरेक घरमा हरियाली र पोषणको लागि एक फलफुलको विरुवा रोप्ने नीति अवलम्बन गरिनेछ ।
१४८ ) ‟मूख्य सडक वारीपारी एक विरुवा हुर्काउने मेरो जिम्मेवारी” भन्ने अभियानसहित कर्मनाशा देखि ढुङ्गिन सम्म सडकको दायाँ बायाँ विरुवा रोपिने छ । विरुवा रोप्न र संरक्षण गर्नका लागि सार्वजनिक¸ निजी तथा नागरिक स्तरसम्मको साझेदारी गरिनेछ ।
१४९ ) नगरपालिको मानव मलमूत्र ब्यवस्थापनका लागि काठमाण्डौ उपत्यका खानेपानी बोर्ड सँगको साझेदारी¸ Bill and Melinda Gates Foundation र इन्फोको प्राविधिक सहयोगमा आवश्यक पूर्वाधारहरु निर्माण गरिनेछ ।
१५० ) गोदावरी, हनुमन्ते र कर्मनासा खोलामा दायाँबायाँ करिडोर निर्माण गरी हरियाली र व्यवस्थित पार्कको निर्माण गरिनेछ । गोदावरी र कर्मनाशा खोला बचाउ अभियान सञ्चालन गर्दै धार्मिक महत्वका गोदावरी र कर्मनासा सभ्यताको संरक्षण र संवर्धन गरिनेछ ।
१५१ ) नगरक्षेत्र भित्रका मुख्यस्थानहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
१५२ ) सामुदायिक, ग्रामीण तथा शहरी, धार्मिक, कवुलियती वनको संरक्षण, सम्वर्द्धन गरी उत्पादनसँग जोड्न आवश्यक समन्वय गरिनेछ ।
१५३ ) नदी किनार, नदी उकास तथा सडक किनार र नाङ्गा पाखा वा क्षेत्रमा वृक्षारोपण गरी सार्वजनिक जग्गाको संरक्षण र हरियाली प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१५४ ) विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरिनेछ । विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समुदाय तथा संघ संस्था र निजी क्षेत्रसँगको सहयोग, समन्वय र सहकार्यमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ । विपद व्यवस्थापन कोषमा थप रकम विनियोजन गरिने छ ।
१५५ ) नगरपालिकाभित्रका सडकहरुमा जथाभावी रुपमा पार्किङ गर्ने, निर्माण सामाग्री थुपार्ने, फोहोर फाल्ने, जथाभावी सडक र सार्वजनिक स्थल खन्ने र भत्काउने व्यक्ति वा संस्थालाई दण्ड जरिवाना गरिनेछ । साथै प्रत्येक वडा कार्यालयको समन्वय एवम् नेतृत्वमा सार्वजनिक स्थलहरुको नियमित सरसफाई एवम् संरक्षण गर्ने व्यवस्था मिलाईने छ ।

खानेपानी व्यवस्थापन
१५६ ) “हाम्रो प्रतिबध्दता स्वच्छ र शुध्द खानेपानीमा प्राथमिकता” को अभियान सफल पार्न नगरभित्र उपलब्ध भएका पानीका स्रोतहरुको व्यवस्थापन तथा नयाँ स्रोतको पहिचान गरी आयोजना संचालनको लागि आवश्यक नीति, कानून, मापदण्ड, योजना, कार्यक्रम, नियमन र खानेपानी महसुल निर्धारण तथा प्रभावकारी कार्यान्वयनको सिफारिसका लागि नगर प्रमुखको संयोजकत्वमा नगर खानेपानी परिषद् गठन गरिनेछ ।
१५७ ) जथाभावी रुपमा भइरहेका डीप बोरिङ्ग कार्यलाई व्यवस्थित गरिनेछ । अब निर्माण हुने घरहरुमा वर्षातको पानी जमिनमा संकलन गर्न Recharge Pit निर्माण गर्नु पर्ने नीतिलाई निरन्तरता दिइने छ ।
१५८ ) सबै वडाहरुमा क्रमश खानेपानीको समुचित व्यवस्था गरिनेछ ।
१५९ ) काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन वोर्डसँगको साझेदारीमा नगरभरिका प्राचीन ढुङ्गे धारा, पोखरीहरु¸ कुवा, पँधेरा, ईनार लगायतका सम्पदा एवम् पानीका स्रोतहरुको संरक्षण र सम्बर्दन गरिनेछ ।
१६० ) नगर क्षेत्रभित्रको जलाधार र पानीको मुहान संरक्षण गरी Ground water Recharge का लागि पोखरीहरु निर्माण गरिनेछ ।
१६१ ) चापाखर्कको खानेपानी मुहानको स्तरोन्नति गरी नगरक्षेत्रमा खानेपानीको व्यवस्था गरिनेछ ।
१६२ ) नगरको खानेपानी समस्याको दिगो समाधानका लागि काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड¸ खानेपानी तथा ढल व्यवस्थापन विभाग र अन्य सरोकारवालाहरु सँगको समन्वय र सहकार्यलाई निरन्तरता दिइनेछ

सामाजिक सुरक्षा¸समावेशीकरण र पञ्जीकरण

१६३ ) नगरभित्रको स्रोत नक्साङ्कन, गरिवीको नक्साङ्कन, सामाजिक पूर्वाधार नक्साङ्कन (प्रोफाइल) तयार गरी समावेशी विकास र लक्षित कार्यक्रमहरु लागू गरिनेछ ।
१६४ ) महिला तथा वालवालिकासँग उप प्रमूख कार्यक्रम अन्तर्गत विपन्न महिलाहरुको लागि शीपमूलक तालिम संचालन¸ उद्यमशीलता विकास कोषमार्फत वीउ पूँजी¸प्रविधि हस्तान्तरण र वजारीकरण समेतमा सहजीकरण गरिनेछ ।
१६५ ) संघीय र प्रादेशिक मापदण्ड अनुरुप सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र व्यवस्थापनमा समन्वय गरिनेछ ।
१६६ ) जेष्ठ नागरिकहरुको ६,६ महिनामा नियमित र निशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाई जेष्ठ नागरिकको सुविधाको लागि हरेक वडामा दिवा विश्राम केन्द्रको स्थापना गरिनेछ । विपन्न वर्गका नागरिकहरुका लागि निःशुल्क औषधी उपचारको व्यवस्था मिलाईनेछ ।
१६७ ) अपाङ्गता भएका व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा पहुँच बढाउनका साथै अवरोधमुक्त वातावरणमा जीवनयापन गराउने व्यवस्थाका लगि सीपमूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
१६८ ) नगरपालिकामा निर्माण गरिने पूर्वाधार र प्रदान गरिने सेवालाई अपाङ्गमैत्री बनाउन प्रयत्न गरिने छ।
१६९ ) महिलाको आर्थिक, सामाजिक, राजनीतिक सशक्तीकरण र क्षमता विकास गरी लैंगिक हिंसा निवारणका लागि निरोधात्मक, प्रवद्र्धनात्मक, संरक्षणात्मक कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक महिला सहकारी नीति अवलम्बन गरी उक्त संस्थालाई लैंगिक समानताको बाहक संस्थाको रुपमा विकास गरिनेछ ।
१७० ) महिला, एकल महिला, आदिवासी जनजाति, अपाङ्ग, दलित तथा पिछडिएका वर्गका लागि आय आर्जन तथा क्षमता विकास मार्फत सशक्तीकरण गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१७१ ) संघ, प्रदेश र सामाजिक संघ संस्थासँग समन्वय र सहकार्य गरी वौद्धिक अपाङ्ग, अटिज्म भएका, पूर्ण र अतिअशक्त वेसहारा लगायतका बालबालिकाको हकहित संरक्षण सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन गरिनेछ ।
१७२ ) बालमैत्री शासकीय प्रवन्ध, बाल क्लव, बाल गृह र पुर्नस्थापन केन्द्र, शिशु स्याहार केन्द्र र बाल विकास केन्द्र, बाल संरक्षण समिति र बाल सञ्जाल निर्माण तथा व्यवस्थापन गरिनेछ । चिल्ड्रेन पार्कहरु निर्माण गरिनेछ ।
१७३ ) सडक बालवालिकाहरुको व्यवस्थापन गरी बालबालिका माथि हुने हिंसा नियन्त्रण गरिनेछ । आपत्कालीन अवस्थाका बाल बालिकाहरुको उद्धार र व्यवस्थापन गरिनेछ । यस नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक पूर्वाधार तयार गरिनेछ ।
१७४ ) सन् २०२४ सम्ममा व्यक्तिगत घटना दर्ता प्रतिशत सत प्रतिशत पुर्याउने राष्ट्रिय कार्यक्रम बमोजिम घटना दर्ताका लागि घुम्ती शिविरहरु सञ्चालन गरिने छ ।
१७५ ) महालक्ष्मी नगरपालिका अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरुलाई नगरपालिकाको तर्फबाट प्रत्येक चौमासिकमा थप रु ५०० दिने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
१७६ ) दीर्घ रोग लागेका विपन्न नागरिकहरुको यतायात खर्च बापत प्रदान गर्दै आएको रु ७००० लाई निरन्तरता दिइने छ ।
१७७ ) सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता बैंकमा जम्मा भएको जानकारी मोबाइल एस. एम. एस. मार्फत दिने ब्यवस्था मिलाईने छ ।
१७८ ) सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरुको पायक पर्ने बैंङ्कबाट उपलब्ध गराइने व्यवस्था मिलाईने छ।

सुशासन¸ कानून निर्माण तथा संस्थागत क्षमता विकास
१७९ ) संघीय तथा प्रदेश सरकारले तयार गरेका सेवा प्रवाह मानक अनुरूप गुणस्तरीय सेवाप्रवाहका लागि आवश्यक स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, नियम र मापदण्ड (SOP) तर्जुमा गरी कार्यान्वयन गरिनेछ । नगरपालिकाबाट प्रवाह हुने सेवालाई one door service को अवधारणा बमोजिम स्वचालित एवम् सहज रुपमा सेवा प्रदान गर्ने व्यवस्था मिलाईने छ । प्रत्येक पदको कार्यविवरण तयार गरी लागु गरिने छ ।
१८० ) नगरपालिका सम्बद्ध सबै राज्य र गैर राज्य पक्षहरुको नैतिक व्यवाहर समेटिएको नगरस्तरीय सदाचार नीति बनाइ प्रभावकारी ढंगले लागू गरिनेछ ।
१८१ ) नगरपालिकाका हरेक क्रियाकलापहरुलाई क्रमशः डिजिटल प्रणालीयुक्त बनाउँदै लगिनेछ । सबै प्रकारका सरकारी कार्यालयहरू (वडा, विद्यालयहरू, स्वास्थ्य संस्थाहरू, कृषि तथा पशु सेवा केन्द्रहरु) आदिमा बिद्युतीय हाजिरी, लगबुक राख्ने र आन्तरिक सञ्चार प्रणालीलाई बिद्युतीय माध्यमबाट ब्यवस्थित गरिनेछ ।
१८२ ) हरेक वडामा विकास निर्माण र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाइ गरी नागरिकहरुका गुनासो सुनुवाइ तथा सम्बोधन गरिने छ ।
१८३ ) राष्ट्रिय भवन संहिता र मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन, बस्ती विकास र प्लटिङ्ग स्वीकृती, भवन सम्बन्धी नीति, कानून, मापदण्डहरू तयार गरिनेछ । पैतृक रूपमा प्राप्त बर्तमान मापदण्ड पूरा गर्न नसक्ने थोरै जग्गा भएकाहरूलाई संयुक्त नक्सा स्वीकृतिको सम्भावनासमेत हेरी परिमार्जन गरिनेछ ।
१८४ ) नगरक्षेत्रभित्र सञ्चालित सेवाप्रवाह¸योजना तथा कार्यक्रमहरुको सूचकहरु तयार गरी अनुगमन तथा मूल्यांकन प्रणालीलाई निरन्तरता दिइनेछ । जनगुनासाहरु छिटो सम्बोधन गर्न आवश्यक व्यवस्था मिलाईनेछ।
१८५ ) यस नगरमा कुनै पनि अनियमितता वा भ्रष्टाचारजन्य क्रियाकलाप विरुध्द शून्य सहनशीलताको नीति अवलम्बन गरी सुशासन र पारदर्शिताका लागि नगरपालिकाको सबै संयन्त्रहरुको परिचालन गरिनेछ।
१८६ ) न्यायिक समितिको क्षमता अभिवृद्धि गरी आर्थिक रूपले विपन्न तथा पिछडिएका व्यक्तिहरुको न्यायमा सहज पहुँच पुर्याउन कानूनी परामर्श तथा सहयोगको आवश्यक व्यवस्था गरिनेछ । मुद्दाको प्रकृति हेरी मध्यस्थता र मेलमिलाप विधिबाट स्थानीय विवादहरुको निरुपण गर्न प्राथमिकता दिइने छ ।
१८७ ) नगरक्षेत्रभित्र सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमन र अनुगमनलाई प्रभावकारी बनाई नगरपालिकाको प्राथमिकताको क्षेत्रमा परिचालन गरिनेछ ।
१८८ ) नगरको सूचना प्रवाहलाई जनतासमक्ष छिटो पुर्याउन वेवसाइट, टेलिभिजन, एफ. एम रेडियो र बुलेटिन प्रकाशन जस्ता माध्यमहरुको प्रयोग गरिनेछ । नियमित पत्रकार भेटघाट गरी नगरका सूचनाहरु सञ्चारकर्मी मार्फत नगरवासिहरुमा पुर्याइनेछ ।
१८९ ) नगरको समग्र विकासको लागि राजनितिक दल एवम् सबै नगरबासीहरुको राय, सल्लाह र सुझावलाई आत्मसाथ गरिनेछ ।
१९० ) नगरपालिकाको सेवा प्रवाह सम्बन्धी नागरिकको जिज्ञासा रहने मुख्य विषयहरुको सहजता पूर्वक जानकारी दिन बारम्बार शोधिने प्रश्नहरु (FAQ) तयार गरी वेवसाइट तथा पुस्तकको रुपमा प्रकाशन गरिने छ ।
१९१ ) नगरक्षेत्रभित्र वसोवास गर्ने विभिन्न क्षेत्रमा ख्याती कमाएका विज्ञ एवं विशिष्ट व्यक्तिहरु र सेवा निवृत्त वा सेवारत व्यक्तिहरुको अभिलेख राखी उहाँहरुको विज्ञतालाई नगरको विकासमा उपयोग गरिने छ ।
१९२ ) नगरपालिकाको प्रमुख पर्यटकीय तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका प्रमुख चोक तथा व्यापारिक स्थलहरुमा सीसीटीभी क्यामरा जडान गर्दै लगिनेछ ।
१९३ ) संघीय तथा प्रदेश कानून बमोजिम नगरपालिकालाई आवश्यक पर्ने नगर प्रहरी र अन्य पदहरुको दरबन्दी सृजना गर्दै लगिनेछ । विगतदेखि नै अस्थायी¸ करारमा कार्यरत कर्मचारीहरुको करार नवीरकण गरी नगरपालिकाको सेवा सञ्चालनलाई निरन्तरता दिइनेछ ।
१९४ ) सार्वजनिक सेवा प्रवाहलाई चुस्त¸ दुरुस्त¸ पारदर्शी¸ नागरिकमैत्री¸ वैज्ञानिक एवम् व्यवस्थित बनाइने छ ।
१९५ ) उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई प्रोत्साहन¸पुरस्कृत तथा सम्मान गरिने छ ।
१९६ ) विगत वर्षदेखिको कर्मचारी क्षमता विकास तथा प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी बनाइ सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरी र सेवा प्रवाहलाई प्रभावकारि बनाइने छ ।
१९७ ) महानगरीय प्रहरी प्रभागसँगको समन्वयमा नगरभित्रको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न पहल गरिनेछ । महानगरीय प्रहरी प्रभागको सहयोग लिई नगर प्रहरीको परिचालन गरी नगरपालिकाको नीति, कानून र निर्णयहरुको प्रभावकारी कार्यान्वयन गरिनेछ ।

धन्यवाद !

रामेश्वर श्रेष्ठ
नगरप्रमुख
महालक्ष्मी नगरपालिका ललितपुर¸बागमती प्रदेश¸नेपाल
आषाढ ०८


सभाको दोस्रो दिन असार ९ गते महालक्ष्मी नगरपालिकाको आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम सभासमक्ष निर्णार्थ पेस भई सर्वसम्मतिले पारित गरिएको थियो । त्यसै गरी नगर उपप्रमुख निर्मला थापाले आ.व. २०७७÷०७८ को आय व्यय विवरण (बजेट) र महालक्ष्मी नगरपालिकाको आर्थिक विधेयक २०७७ पेस गर्नु भएको थियो ।
महालक्ष्मी नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न एक अर्ब २५ करोड ६२ लाख ५४ हजार २ सय ९० रुपैया विनियोजन गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनु भयो ।
असार १० गते महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाको अन्तिम दिन रहेको नगरपालिकाले जनाएको छ । जसमा विनियोजन ऐेन, २०७७ सभा समक्ष पेस गरिने कार्य तालिका रहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *