Thursday, October 1

स्वेच्छाचारी गिरफ्तारी र गैरकानुनी थुनामा राख्ने कार्य बन्द गर्न आयोगको आग्रह

Spread the love

ललितपुर    ०७७ जेठ २५ गते

कुनै पनि व्यक्तिलाई स्वेच्छाचारी रूपमा गिरफ्तार नगर्न तथा गैह्रकानुनी थुनामा राख्ने कार्य बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले जेठ २५ गते विज्ञप्ति जारी गरि ध्यानाकर्षण भएको जनाएको हो ।  खोटाङ जिल्ला हलेसी तुवाचुङ्ग नगरपालिका–२ बस्ने चक्रबहादुर खत्री आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको रोहवरमा आयोग परिसर हरिहर भवनबाट जेठ २५ गते रिहा हुनु भएको जनाइएको छ ।

सर्वोच्च अदालतको जेठ २३ गतेको  आदेश बमोजिम खत्रीलाई रिहा गरिएको हो । उहाँलाई ०७६ वैशाख २ देखि हालसम्म ६ पटक नेपाल प्रहरीले स्वेच्छाचारी रूपमा पटकपटक गिरफ्तार गरेको आयोगले जनाएको छ ।

खत्रीलाई लकडाउनको अवधिमा समेत खोटाङ, उदयपुर, पुनः खोटाङ र सोलुखुम्बु हुँदै सिराहा पुर्‍याएकोमा प्रवृत्त भावना राखी गैह्रकानुनी थुनामा राखेको ठहर गर्दै सर्वोच्च अदालतको आदेशबाट उहाँ रिहा हुनु भएको आयोगले उल्लेख गरेको छ ।

खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारी समेत नदिई स्थिति अज्ञात पार्ने गरिएको आयोगले जनाएको छ । निज उपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेशहरूको वेवास्ता गरिएको आयोगले उल्लेख गरेको छ ।

खत्रीका सम्बन्धमा आयोगले यही जेठ १६ गते चौबीस घण्टाभित्र जवाफ पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

खत्रीको रिहाइ सम्बन्धमा सर्वोच्च अदालतबाट भएको आदेश बमोजिम निजको सम्मानपूर्वक बाँच्न पाउने तथा वैयक्तिक स्वतन्त्रता उपभोग गर्न पाउने अधिकारको प्रचलनको लागि आयोगलाई अनुगमन गर्न समेत निर्देशन भएको जनाएको छ ।

सो अनुरुप खत्रीलगायत अन्य कुनै पनि व्यक्तिको अधिकार संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएको आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *